काठमाडौ, श्रावण ३ - कांग्रेस उपसभापति एंव संसदीय दलका नेता रामचन्द्र पौडेलले तत्काल संसदीय दलको नेता परिवर्तन नहुने दावी गरेका छन् । उनले पार्टी मिलेको सन्देश गइरहेको बेला अनावश्यक झमेला झिकिएको बताए । मंगलबार बिहान पार्टी सभापति सुशील कोइरालासंगको भेटपछि पौडेलले पार्टी सभापति पनि यस विषयमा प्रष्ट रहेको बताए । पार्टीमा राम्रो वातवरण बन्दै गएको र देशभरका कार्यकर्ता उत्साहित भएका बेला नेता परिवर्तनको कुरा आउँदैन उनले भने । शान्ति प्रक्रिया र संविधान निर्माणलाई निष्कर्षमा पुर्याउनुपर्ने बेलामा नेता परिवर्तनको विवाद झिक्नु ठीक नभएको पौडेलको कथन थियो । वरिष्ठ नेता शेरबहादुर देउवाले संसदीय दलको नेता परिवर्तन गरेर आफू नेता हुने प्रयासमा लागेका छन् । देउवाले सोमबार सभापति कोइरालासंग भेटका थिए । कोइरालाले देउवासंग दलको नेता परिवर्तनको विवाद अहिले ननिकाल्न आग्रह गरेका थिए । साभारः इकान्तिपुर