३२ असार : जेलभित्र बसेको मान्छेले कलमभित्र नदेखिनेगरी पैसा घुसारेर बाहिर पठाउन खोज्यो भने के हुन्छ ? हतियार वा विस्फोटक पदार्थ, एटिएम कार्डलगायत सामग्री नेपालका जेलमा प्रतिबन्धित रहे पनि नगद लिने र दिने विषयमा कुनै नियन्त्रण गरिएको छैन । तर, केन्द्रीय कारागारमा बन्दीजीवन बिताइरहेका कुख्यात अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजले पत्नी भनिने निहिता विश्वासका लागि उपचारखर्च पठाउन खोज्दा कारागार प्रशासन झस्किएको छ ।
एक महिनापहिले निहिता बिमारी भएको र उनलाई उपचार खर्च चाहिएको भन्दै शोभराजले निहिताकी आमा तथा अधिवक्ता शकुन्तला थापासँग त्यसरी उपचार खर्च पठाउन खोजेका थिए ।
उनले कलमको मसी हाल्ने दुलोमा नेपाली रूपैयाँ पाँच सय घुसारेर शकुन्तलालाई दिएका थिए । तर, कलमभित्र ‘शंकास्पद वस्तु’ छिराएको शंकामा प्रहरीले कलम मात्रै हैन, शकुन्तलामाथि पनि चर्कोसँगले चेकजाँच गर्यो । कलमको दुलोबाट नोट निस्किएपछि सो नोट शोभराजलाई नै फिर्ता दिइएको थियो । र, यही घटनादेखि कारागार कार्यालय, जगन्नाथदेवलले शोभराजको भेटघाट बन्द गराएको थियो । कारागारमा कैद रहेको व्यक्तिलाई भेट्न जानेले पैसा लिन/दिनमा कुनै कडाइ गरिएको छैन, तर शोभराजको तरिका शंकास्पद भएको भन्दै प्रशासनले उनको भेटघाटमा नियन्त्रण गरेको थियो । तर, गत बुधबार शोभराजले नेपाल सरकारको नाममा १० पृष्ठ लामो ज्ञापनपत्र लेखे र आफूलाई शकुन्तलासँग भेट्न नदिएमा आमरण अनशन बस्ने चेतावनी दिए । उनले ज्ञापनपत्रको सुरुमा अंग्रेजी, बीचमा फ्रेन्च र अन्तिममा अरबी भाषामा आफ्ना भनाइ लेखेका थिए । त्यसमा उनले आफूसँग एक महिनादेखि आफन्त तथा कानुन व्यवसायीलाई भेट्न नदिँदा एकातिर मानवअधिकार हनन भएको र अर्कातिर आफू बेखर्ची भएको कुरा उल्लेख गरेका थिए ।
‘यस्तो दुःख दिनुको सट्टा मलाई आफ्नै देशको जेलमा पठाइदिए हुन्थ्यो, नभए सर्वोच्च वकिलसँग भेटी आवश्यक कानुनी परामर्श गर्ने मौका दिनुहोला’, शोभराजको ज्ञापनपत्र उद्धृत गर्दै एकजना कारागार अधिकृतले बताए । सो ज्ञापनपत्रमा उनले नेपालस्थित फ्रान्सेली दूतावास, एमनेस्टी इन्टरनेसनल, अन्तर्राष्ट्रिय आप्रवासी संगठनसहित दर्जन संघसंस्थालाई ‘बोधार्थ’ भनी लेखेका थिए । शोभराजको यस्तो ज्ञापनपत्र पाएपछि जेलर तीर्थराज भट्टराईले तत्कालै गृहसचिव लीलामणि पौडेल र कारागार विभागका महानिर्देशक दुर्गाबहादुर भण्डारीलाई जानकारी दिए । गृहसचिवले ‘उसलाई सम्झाइ-बुझाई अनशन नबस्ने स्थिति बनाउनु र भेटाउन मिल्ने दुईजनासँग भेटाइदिए हुन्छ’ भन्ने निर्देशन दिएका थिए । यस्तो निर्देशनपछि जेलर भट्टराई आफैँले शोभराजलाई भेटी सम्झाए । शोभराजले ‘सासू’ शकुन्तलासँग भेट्ने चाहना राखे । र, शकुन्तला भोलिपल्टै भेट्न पनि गइन् । शुक्रबारको भेटमा शोभराजले निहिताका लागि केही खर्च पठाएको स्रोतले जनाएको छ ।
गेटमै गड्बडी
सुन्धारास्थित केन्द्रीय कारागारलाई अझ सुरक्षित र व्यवस्थित बनाउन कारागार विभागले गृह मन्त्रालयबाट बजेट निकासा गरी ढलाने गेट बनाउन थाल्दा गृह र रक्षा मन्त्रालयबीच किचलो सुरु भएको छ । केन्द्रीय कारागार र नेपाली सेनाको बन्दोबस्ती अड्डा छिर्ने बाटो एउटै छ । कारागार कार्यालयले महिना दिनअगाडिदेखि
जेल छिर्ने पहिलो प्रवेशद्वारस्वरूप गेट निर्माणकार्य थालेको थियो । तर, सेनाले बन्दोबस्तीका सबै सामान हरहमेशा ल्याउने र लैजाने काममा बाधा पुग्ने भन्दै खुला आवत-जावत नै हुनुपर्ने अडान लियो । जेल प्रशासनले मन्त्रालयकै आदेशबाट गेट बनाउन थालेको जानकारी दिएपछि बन्दोबस्ती अड्डा पनि सैनिक मुख्यालयमार्फत आफ्नो विभागीय मन्त्रालय पुगेको छ । गेट बनाउने गृहको निर्देशनबमोजिम बाटोको दायाँ-बायाँ पिलर उठिसकेको छ, तर रक्षाले अहिले रोकिदिनूस् भनेका कारण बनाउँदा बनाउँदैको गेट त्यसै थन्किएको छ । साभारः http://brusselnepal.com