असार १८ असारे लाग्यो वर्षदिनको बाली लगाउने बेला किसानलाई भ्याई नभ्याई छ । आकाशे पानीको वर्षा जमिनमा औइरिएपछि किसानहरु खुशी त छन् तर एक साता देखि परेको भारी बर्षातले देशका बिभिन्न ठाउँमा ठूलो धनजनको नोक्सानी पुर्याएको छ ।तनहुँका चार ठाउँमा बाढीपहिरो जाँदा नवजात शिशुसहित ६ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । पाल्पामा दुई किशोरी र एक युवकको मृत्यु भएको छ । महाकाली किनारका बासिन्दालाई त्यहाँबाट सर्न सरकारी अधिकारीले आग्रह गरेका छन् । कोसीमा पानीको सतह बढ्न थालेपछि खतराको झन्डा राखिएको छ । सुनसरीमा सयौं परिवार विस्थापित भएका छन् ।
रिसिङको पल्ट्याङमा शुक्रबार दिउँसो एक घर पुरिँदा सुत्केरी ४४ वर्षीया गौमाया थापा र उनकी १४ दिनकी नवजात छोरीको मृत्यु भएको हो । उनीहरूको शव स्थानीयवासीले निकालेका थिए । घटनास्थल नजिकैको खहरे खोलमा बाढी आएकाले साँझसम्मै प्रहरी पुग्न नसकेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ
।
रिसिङकै रानीपोखरीस्थित चिसापानी खहरे खोलाले बगाउँदा रानीपोखरी-४ का ४४ वर्षीय हरिकुमार श्रेष्ठ र १४ वर्षीया गीता श्रेष्ठको मृत्यु भएको छ । उनीसँगै खोला तर्दै गरेका १६ वर्षीय दीपेन्द्र श्रेष्ठ बगेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक गौतमराज कट्टेलले बताए । उनीहरू मकै खाने बाँदर धपाउन बारीमा गएका बेला बाढीमा परेका थिए ।
बन्दीपुर-८ स्थित खल्दी खोलाले बगाएर ७८ वर्षीया केशमाया भट्टराईको पनि मृत्यु भएको छ । माथिबाट आएको पहिरोले धकेलेर उनी खोलामा परेको प्रहरीले जनाएको छ । भानुमती-८ भानुमा घाँस काट्दाकाट्दै आएको पहिरोले पुरिएर १८ वर्षीया पितामाया थापाको मुत्यु भएको छ ।
वर्षाले भिमाद-८ लहरोनीमा शुक्रबार बिहान पहिरो जाँदा चार घरमा क्षति भएको छ । जिउकुमारी राना, तिलक नेपाली, सोमकुमार श्रेष्ठ र छविलाल थापा मगरको घरमा माथिबाट आएको पहिरोले क्षति पुर्याएको प्रहरीले जनाएको छ । सदरमुकाम तथा राजमार्गबाट गाउँ जोड्ने ग्रामीण सडकहरू अवरुद्ध भएका छन् ।
पाल्पामा तीनको मृत्यु एक घाइते
पाल्पा संवाददाता माधव अर्यालका अनुसार पश्चिम पाल्पाको पालुङमैनादी गाविसको दसैंघर टोलमा शुक्रबार पहिरो खसेर गोठ भत्किँदा १७ वषर्ीया सिर्जना विक र १६ वषर्ीया सुनिता विकको मृत्यु भएको छ । दिदीबहिनी सँगै बसेर गोठको कोठामा पढिरहेका बेला उनीहरूको मृत्यु भएको हो ।
बुटवलबाट पाल्पा आउँदै गर्दा बिहीबार झुम्सानजिकै पहिरोले पुरिएर रूपन्देहीको मधौलिया-७ का ३५ वषर्ीय धर्मप्रसाद भण्डारीको मृत्यु भएको हो । लु५प १२७ नम्बरको मोटरसाइकल चलाएका उनलाई घाइते अवस्थामा उद्धार गरिए पनि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही सडकखण्डको मस्याम गाविसको हिउँदेखोला नजिकै शुक्रबार बिहान पहिरोले मोटरसाइकल बगाउँदा स्थानीय केशर मगर घाइते भएका छन् ।
सिद्धार्थ राजमार्गका दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा बिहीबार रातिदेखि शुक्रबार बिहान १० बजेसम्म यातायात अवरुद्ध भयो । जरेपीपल, डुम्र र हिउँदेखोलामा खसेको पहिरोका कारण दर्जनभन्दा बढी स्थानमा सवारी एकतर्फी भएको छ ।
बर्तुङ-राम्दी सडकखण्डका विभिन्न भागमा पहिरो खस्दा सवारी अवरुद्ध भएका छन् । सिद्धार्थ राजमार्ग नियमित नहुँदा पोखरा, गुल्मी, अर्घाखाँची, पाल्पातर्फबाट बुटवल, भैरहवातर्फ हिँडेका सवारी बाटोमै रोकिएका छन् ।
चिलाङदी-चापपानी-दर्लमडाँडा-खानीगाउँ सडक अवरुद्ध भएको छ । आर्यभन्ज्याङ-रामपुर, तानसेन-हार्थोक-रिडी साथै छहरा र बाँसटारी-झडेवा सडक पनि अवरुद्ध छ । वषर्ाले पाल्पाको अन्नभण्डार मानिने माडीफाँट डुबानमा परेको छ । पाँच सय रोपनी रोपाइँ सकेको र रोपाइँ गर्न बाँकी खेत डुबानमा परेको हो । माडीफाँटमा ताल बनेको छ । फाँटका फेदी, दोहारा र बद्बारी क्षेत्रमा भलसहितको बाढी पसेको छ ।
बागलुङ संवाददाताका अनुसार लगातारको झरीले ग्रामीण भेगका सडकहरूमा यातायात अवरुद्ध हुँदा पैदल यात्रुहरूसमेत हैरानीमा छन् ।
बागलुङदेखि बुर्तिबाङसम्मको ९३ किमिमध्ये घोडाबाँधेभन्दा अगाडिको ६७ किमि सडकमा झन्डै सयवटा पहिरो गएको छ । पहिरोका कारण सदरमुकाम आइपुग्न तीन दिनसम्म लाग्न थालेको यात्रुहरूले बताएका छन् ।
अर्घाखाँचीमा दुई जनाको मृत्यु
अर्घाखाँचीको हंसपुर-१ नयाँघरका ७१ वर्षीय छवि पुनलाई खोलाले बगाएर मृत्यु भएको छ । घरनजिकको पजिङ्खोलामा भाडा माझ्दै गर्दा बगाएका उनलाई दुई सय मिटर तल मृत अवस्थामा फेला पारिएको थियो ।
हंसपुर-६ माल्नेटा पहिरोले घर पुरिँदा ५४ वर्षीया कुन्ती मगरको मृत्यु भएको छ । पहिरोले घरसहित बगाएपछि उनलाई पुरेको थियो । गाउँले र प्रहरीले दुर्वै शव निकालेको प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले जनाए ।
पर्वत संवाददातका अनुसार खौलालाकुरी-९ मा शुक्रबार दिउँसो खौलालाकुरी र आर्थर डाँडाखर्क गाविसको सीमामा पर्ने ओकादी खोलाले बगाउँदा ९ वषर्ीय सुस्मिता थापाको मृत्यु भएको छ । तीन दिनदेखि लगातार परेको वषर्ासँगै खोलामा बाढी आएपछि तर्ने क्रममा उनलाई बगाएको हो । उनको शव खोला केही तल फेला परेको प्रहरीले जनाएको छ । उनी जनजागृति प्राथमिक विद्यालयमा कक्षा ३ मा अध्ययरत थिइन् ।
म्याग्दी संवाददाताका अनुसार सदरमुकाम बेनी जोडिएका सबै सडकहरू अवरुद्ध भएको छ । पोखरा मालढुंगा बेनी सडकका विभिन्न खण्डमा पहिरो गएकाले बेनीबाट राजधानीलगायत विभिन्न सहरका लागि छुटेका र आउन लागेका गाडी रोकिएका छन् । बेनी-जोमसोम राजमार्गको चमेरे, भीरकाटे,
तितर र बाँदरजुंग भीरमा पहिरो गएकाले त्यस क्षेत्रमा पनि सवारी साधन चलेका छैनन् ।
सदरमुकाम बेनीबाट पश्चिम दर्वाङ क्षेत्रमा जाने सडकको चुत्रेनी, फापरखेत र दर्वाङको ढाडखर्कलगायत क्षेत्रमा पहिरो गएकाले यातायात बन्द छ । सदरमुकामबाट पिप्ले- भगवती- बेगखोला सडक, बेनी-पाखापानी र बेनी-कुहु सडकखण्डका विभिन्न स्थानमा पनि पहिराले सवारी साधन चल्न सकेका छैनन् ।
मुस्ताङमा जहाज र विद्युत् अवरुद्ध
बुधबार राति आएको बाढीले मुस्ताङको टुकुचे गाविसमा रहेको चोखोपानी साना जलविद्युत् आयोजनाको नहर पुरेपछि विद्युत् उत्पादन बन्द भएको छ । यसले गर्दा छुसाङ, झोङ, कागबेनी, मुक्तिनाथ, जोमसोम, टुकुचे, मार्फा, कोवाङ, लेते र कुञ्जो गाविसमा विद्युत् आपूर्ति हुन सकेको छैन । वषर्ा नरोकिएकाले आयोजनाको नहरमा पसेको बाढी तर्काउन र लेदो हटाउन नसकिएको आयोजनाअन्तर्गतको श्वेत भैरव पावर स्ाप्लाई प्रालि जोमसोमका प्राविधिक राजेन्द्र थकालीले बताए । प्रतिकूल मौसमका कारण पाँच दिनदेखि पोखरा जोमसोम हवाई उडान बन्द छ ।
दुईको मृत्यु
भरतपुर संवाददाताका अनुसार मकवानपुरको फाखेल-७ को दोखोरियामा शुक्रबार पहिरोले
बगाएर डम्बरबहादुर थिङको मृत्यु भएको छ । शौचालय जाने क्रममा घरमाथिबाट खसेको पहिरोले बगाएका थिङको उनको शव ७० मिटर तल भेटिएको थियो ।
बुटवलको योगीकुटीमा नहरले बगाउँदा ३ वषर्ीय बालक समीर खानको मृत्यु भएको छ । स्थानीयले उद्धार गरी उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।
बाढीले तटबन्ध भत्काएर कटान गर्दा बुटवल १३ को बिनापातेस्थित शिशु बाल सुधार केन्द्र, नजिकैका ४ घर र शिवालय मन्दिर बगाएको छ । तिनाउ नदी दुवैतिबाट उर्लेर आएपछि करिब ३ सय घरहरू जोखिममा परेका छन् । बुटवल बजारको छेउमै रहेका बिनापाते, हात्तीसुढ, खयरघारी, प्रगतिनगरलगायत क्षेत्र बढी जोखिममा छन् ।
बाढीले बुटवल-१३ बुद्धनगरमा चार बिजुलीका पोल पनि ढलेका छन् । पोल ढलेपछि उक्त क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।
मकवानपुरको पालुङमा शुक्रबार बिहानको बाढीले मोटरसाइकलसहित बगाउँदा आग्रा-५ डाँडाबासका प्रेम तामाङ घाइते भएका छन् ।
दुई दिनदेखिको अविरल वर्षाले पहिरो गएर त्रिभुवन राजपथ र मदन भण्डारी राजमार्ग शुक्रबार बिहानदेखि अवरुद्ध छ । त्रिभुवन राजपथको भैंसे-सिमभन्ज्याङ खण्डमा पर्ने झिरघारीमा पहिरो गएकाले अवरुद्ध भएको हो ।
विपतमा महाकाली किनारवासी
महेन्द्रनगर- ‘अब तपाईंको परिवार छिटोभन्दा छिटो सुरक्षित ठाउमा सर्नु पर्यो, बाढीले घर भत्काउने भयो गत वर्ष नै सरिसक्नुपर्ने,’ बुधबार दिउँसो महाकालीको कटान निरीक्षण गर्न भुजेला किनार पुगेका सरकारी अधिकारीहरूले यसो भन्दा ६० वर्षे विष्णुदत्त जोशी भक्कानो छोडेर रुन मात्र सकेनन् । महाकालीले बर्सेनि कटान गर्दै आएको घर अब नदीबाट ५/६ मिटर दूरीमा छ । बुधबारदेखि बाढीले थप कटान भइरहेको देखाउँदै कञ्चनपुरका निमित्त प्रजिअ खिमानन्द पाठकसहितको सरकारी अधिकारीको टोलीले उनलाई तत्काल अन्यत्र सार्नुपर्ने सल्लाह दिएको हो । जोशी परिवार २६ वर्षअघि दार्चुलाबाट बसाइँ सरेका हुन् । ‘घर भत्काएर अब अन्त कहाँ जाने ?’ उनले भने ।
दार्चुलाको बोहरी-२ मा पर्ने बोहरी गाउँबाट जोशीको परिवार किनारको यो एकान्त कुनामा पुगेको हो । ‘सासू, छोराछोरी र हामी बूढाबूढी ६ जना मात्र आएका हौं, परिवार बढे, अहिले १६ पुग्यौं,’ विष्णुदत्तकी श्रीमती गोमतीले भनिन् । विकट पहाडी क्षेत्रमा बर्सेनि बालबच्चा थपिँदै जाँदा भविष्यमा कस्तो बोझ बेहोर्नुपर्छ भन्ने चेतनाको अभावले जोशीका तीन छोरा र पाँच छोरीको ठूलै परिवार हुन पुगेको हो ।
दार्चुलाको पुख्र्यौली जग्गा करिब अढाई लाखमा बेचेर जोशी परिवार सुखद भविष्य खोज्दै महाकाली किनारमा आइपुगेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेला गाउँमा पर्ने यो ठाउँ सुरुका दिनमा जोशी परिवारका लागि निकै सहज थियो । ‘पहाडको जग्गा बेचेको पैसाले करिब १ बिघा जग्गा किने, त्यतिबेला ३५ हजार रुपैयाँ जग्गामा खर्च भयो, पक्की घर बनाएँ, भैंसी गोठ, भान्सा पनि थपें र दुई छोरा, दुई छोरीको बिहे पनि गरेपछि जग्गा बेचेरको पैसा सबै सकिएको हो,’ विष्णुदत्तले अढाई दशक अघिका कुरा सम्झँदै भने । बोहरी गाउँभन्दा उनीहरू बसाइँ सरेको नयाँ बस्तीमा घरजम राम्रै चलिरहेको थियो । ‘खेतीले वर्षभरि खान पुग्थ्यो, भैंसीको दूध बेचेर नुन-तेलको खर्च चलेकै थियो, बालबच्चा पढ्न थालेका थिए, जबदेखि महाकालीले बस्ती कटान गर्न थाल्यो, हाम्रा दुःखका दिन पनि सुरु भए,’ उनले भने ।
महाकाली किनारको भुजेलातर्फको बस्तीमा २०५२ सालदेखि वषर्ायामको बाढीले कटान गर्न थालेको हो । बर्सेनि महाकालीको धार मोडिएर भुजेला किनार तर्फ र्फकनेक्रम बढ्दै गयो । बाढीले कटान गर्न थालेपछि जोशी जस्तै हालको महाकाली टोलमा बसोबास गरिरहेका करिब ४० परिवार बाढीको उच्च जोखिममा पर्न थाले । ‘ऊ त्यहाँ बग्थ्यो महाकाली, हाम्रो परिवार सुरुमा आउँदाका बखत’ उहिले आफ्नो घरबाट करिब ५ सय मिटर टाढा महाकाली बग्ने गरेको ठाउँ देखाउँदै उनले भने, ‘यस्तो होला भन्ने थाहा पाएको भए जति दुःख सहनु परे पनि पहाड छोड्ने थिएनौं ।’
२०५२ सालदेखि विस्तारै कटान सुरु भए पनि ५ वर्षयता बढी क्षति हुन थालेको हो । ‘२० कट्ठामध्ये ७/८ कट्ठा त मेरो जग्गा पूरै महाकालीले कटान गरी बगाइसक्यो,’ जोशीले
भने । ‘महाकालीमा पानी बढ्न थालेपछि बुवा रातभरि निदाउनुहुन्न, टर्च बालेर महाकाली हेर्दै र्फकंदैमा उहाँको रात बित्ने गर्छ, यसो गर्न थालेको ५ वर्ष बढी भइसक्यो’ विष्णुका छोरा धनञ्जयले भने ।
बर्सेनि वर्षायामको बाढीले जग्गा कटान गरिरहेको भए पनि भुजेला नदी किनार जोगाउन तटबन्ध निर्माण हुन थालेपछि जोशी परिवारसँगै महाकाली टोलका थुप्रै बाढी प्रभावित परिवार जोगिने आशामा थिए । कहिले महाकाली सिँचाइ आयोजनाले तटबन्ध बनाउँछ कहिले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले । असारतिर बनाइने ती तटबन्ध साउनको बाढीले भत्काएर बगाउने क्रम भने रोकिन सकेको छैन । ‘गत वर्ष जनताको तटबन्ध कार्यक्रमले करोडौं खर्च गरेर तटबन्ध निर्माण गर्न थालेपछि कटान नियन्त्रण हुने विश्वास गरेका थियौं, साउनको पहिलो बाढीले त्यो तटबन्ध भत्काएर बगाएपछि अब केही भरोसा बाँकी रहेन,’ धनञ्जय भन्छन् ।
गत वर्ष साउनदेखि असोजसम्म पटक-पटकको बाढीले भुजेला नदी किनारको बस्तीतिर महाकालीको भंगालो पसेर करिब डेढ सय परिवार विस्थापित भए । ‘भदौतिरको बाढीको प्रकोप हेर्न सरकारका मुख्य सचिव माधव घिमिरे यहाँ आउनुभयो, हामीले भेट्यौ र पीडा सुनायौ,’ धनञ्जय भन्छन्, ‘मुख्य सचिवले हाम्रो दुर्दशा आफैंले हेरेका कारण यसपाला तटबन्ध निर्माणमा बजेट बढ्ने आशा गरेका थियौं तर उल्टै गत वर्षभन्दा घटेर आयो ।’ यो वर्ष नयाँ तटबन्ध निर्माणको कुरा त परै जाओस्, गत वर्षको बाढीले भत्काएको भागको मर्मत पनि सुरु भएन । यस वर्ष कञ्चनपुर जिल्लाका २ प्रमुख नदी महाकाली र दोधाराको कटान नियन्त्रणका लागि ६ करोडमात्र निकासा भयो । गत वर्ष १०
करोड बजेट आएको थियो । ‘बजेट कम निकासा भयो, भुजेलातर्फ काम सुरु गर्न सकेनौं,’ जनताको तटबन्ध कार्यक्रमका प्रमुख आत्मराम रायले बताए ।
‘घर खाली गरेर अन्यत्र जाउँ भन्न सजिलो छ तर बस्तुभाउदेखि बालबच्चा सबैलाई भन्नेबित्तिकै कहाँ पुर्याउने ?’ बिहीबार पनि भुजेला क्षेत्र निरीक्षणमा पुगेको सरकारी टोलीलाई विष्णु दत्तले अघिल्लो दिनकै भनाइ दोहोर्याए । उनलाई थाहा छ, यसपाला उनको घर आँगन जोगिन्न भन्ने । तर पनि उनी अढाई दशकदेखि घरजम गरेको बस्ती छोडेर अर्को विरानो ठाउँमा बसाइँ सर्न चाहिरहेका छैनन् ।
‘अब घर छोड्नुपर्ने नै हो भने केही दिनका लागि होइन सरकारले महाकालीले हालसम्म कटान गरेको र बाँकी रहेको जग्गाको सट्टा भर्ना दिएर उपयुक्त ठाउँमा बसोबास गराओस् हामी बस्ती छोड्न तयार छौं,’ उनले माग गरे ।
बाढी पसेर सयौं विस्थापित
इनरुवा संवाददाताका अनुसार निरन्तर वर्षापछि सुनसरीका विभिन्न खौलामा आएको बाढीले झन्डै ५ सय परिवार विस्थापित भएका छन् । दर्जनभन्दा बढी गाविस डुबानमा परेका छन् ।
सुनसरी खोलामा पानीको सतह बढ्दा जिल्लाका पश्चिमी र दक्षिणी गाविसमा डुबानमा परेको छ । सयौं बिघामा लगाइएको धानबाली नष्ट भएको छ । सदरमुकाम इनरुवासँगै जोडिएको भोक्राहा गाविस-७ मा भल पसेल विपतमा परेका डेढ सय परिवारलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको छ ।
उक्त वडाका सबै घरमा ७ फिटसम्म पानी बगिरहेको छ । पानी पसेपछि आफ्नो सरसामान र बालबच्चा लिएर स्थानीय बासिन्दा पूर्वपश्चिम सडकखण्डअन्तर्गत सुनसरी खोलाको पुलमा शरण लिएर बसेका छन् । उनीहरूले आफूलाई तत्काल सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन माग गरेका छन् ।
सुनसरी खोलाको बाढीकै कारण सदरमुकाम इनरुवा-६ को ज्ञानोदय टोल, खिक्रीपट्टी र मरिक टोलका घरहरूमा पनि पानी पसेको छ । खिक्रीपट्टी र मरिक टोलका ७५ परिवार सुरक्षित स्थानमा सरेका छन् । नरसिंह गाविसको दक्षिणी क्षेत्र डुवानमा परेको छ । घुस्की गाविसका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । इनरुवा-७ का ६० घरमा नालाको पानी पसेको छ ।
सुनसरीको गडन, बुढी र ज्वाला खोलामा आएको बाढीले अन्य गाविसहरू डुबानमा परेको स्थानीयहरूले बताएका छन् । विस्थापित परिवारलाई बबियास्थित सरस्वती माविमा राखिएको छ ।
सप्तकोसी नदीमा शुक्रबार दिउँसो पौने दुई बजे बालुबा सफाइ गर्ने एउटा ड्रेजर मेसिन पल्टिएको छ । बिहार सरकारको कोसी योजना मातहतको उक्त ड्रेजर मेसिन पानीको बेगल ताम्न नसकी कोसी ब्यारेजभन्दा ढेड किलोमिटर दक्षिण मध्यकोसीमा पल्टिएको थियो । ड्रेजर मेसिन पल्टिँदा बेपत्ता भएका अपरेटरसहित तीन जनाको स्थानीय नाबिक र प्रहरीले एक घन्टा पछि सकुशल उद्धार गरेका थिए ।
इटहरीस्थित टेङग्रा खोलाको तटबन्ध भत्किएर इटहरी नगर क्षेत्रका ७ र ९ वडा जलमग्न भएका छन् । नियन्त्रणका लागि सशस्त्र र नेपाली सेना परिचालन गरिएको छ । वषर्ले पकली र दुहबीका दुई वडामा २ सयभन्दा बढी घर डुबानमा परेका छन् । पकली-५ सुकुम्बासी बस्तीका सयभन्दा बढी परिवार सामान घरमै राखेर सुरक्षित स्थानतर्फ लागेका
छन् । दुहबी-४ कृष्णनगर जलमग्न भएको छ । त्यहाँका सयभन्दा बढी परिवारले प्रशासनले ध्यान नदिएको भन्दै प्रदर्शन गरेका छन् ।
सुनसरी औद्योगिक करिडोर क्षेत्रका कतिपय उद्योग पानी पसेर जलमग्न भएका छन् । उद्योगमा पानी पसेर उत्पादनसमेत प्रभावित भएको छ । टेङग्रा, बुढी र सेउतीलगायत खोलामा आएको बाढीले ३ वटा पुल उच्च जोखिममा छन् ।
घर डुबानमा परेपछि कोसी राजमार्ग खण्डको दुहबी बजारमा प्रदर्शन र सडक जाम गरिरहेका पीडितमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले पटक-पटक माग गरे पनि सरकारले पानीको निकास गर्न ध्यान नदिएकाले बस्ती डुबानमा परेको भन्दै कोसी राजमार्गको दुहबी खण्डमा २ घन्टा आवतजावत बन्द गरेका थिए ।
साभारः ई-कान्तिपुर