इकान्तिपुर घनश्याम खड्का,लालप्रसाद शर्मा
म्याग्दी/पोखरा, जेष्ठ ३१ - सदरमुकामस्थित इन्द्रबक्स गणका एक बिरामी सिपाहीलाई जबर्जस्ती दैनिक शारीरिक व्यायाममा लगाउँदा मृत्यु भएपछि त्यसको विरोधमा सेनानी अरुणबहादुर सिंहमाथि कुटपिटमा संलग्न २३ सैनिकलाई नेपाली सेनाले बर्खास्त गरेको छ । बर्खास्त गरिएकामध्ये १६ जनालाई कैद सजायसमेत भएको छ । सेनानी सिंहको भने दुई वर्ष बढुवा रोक्का गरिएको छ । नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी नरबहादुर कँडेलको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले मंगलबार १६ जनालाई ९ महिनादेखि ३ वर्षसम्म कैद सजाय फैसला गरेको हो ।
गत चैत १४ गते इन्द्रबक्स गण म्याग्दी, अर्थुङ्गे ब्यारेकमा मुटुरोगका बिरामी सिपाही रामबहादुर चौधरीको दौडिने क्रममा मृत्यु भएपछि आक्रोशित सैनिकहरूले सेनानी -मेजर) सिंहमाथि कुटपिट गरेको र हतियार देखाएकामा सेनाले तत्काल कोर्ट अफ इन्क्वाइरी गरेको थियो । सैनिक अदालतको आदेशअनुसार प्यूठ टेकबहादुर कुमाललाई तीन वर्ष कैदसहित बर्खास्त गरिएको छ । अमल्दारहरू विजयकुमार यादव, राजेशप्रसाद यादव, राजेश यादव, प्यूठ प्रदीप खरेल, सिपाहीहरू निरज भट्ट र मीन नाथलाई दुई/दुई वर्ष कैदसहित बर्खास्त गरिएको हो । अमल्दार सविन थुयाजु, सुमन अधिकारी, प्यूठ टेकबहादुर भुजेल, देवनारायण चौधरी, रामेश्वर चौधरी, सिपाहीहरू विष्णुप्रसाद कोइराला र लोकबहादुर श्रेष्ठलाई एक/एक वर्ष कैद र सेवाबाट बर्खास्त गरिएको छ । प्यूठ सुरेश राय यादव र सिपाही रामु राय यादवलाई ९ महिना कैदसहित बर्खास्त गरिएको छ ।
उनीहरूमध्ये पाँच जनालाई म्याग्दी जिल्ला कारागार पठाइएको छ । 'सैनिक ऐन, २०६३ को दफा ४४ को खण्ड ख, दफा ४६ को खण्ड ख र दफा १०१ को उपदफा १ खण्ड ग र घ अनुसार भविष्यमा सरकारी जागिरमा अयोग्य नहुने गरी कारागार नियमावलीअनुसार सिधा खुवाई कैद भुक्तान गर्नु' फैसलामा भनिएको छ । उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गरिएको हो । सैनिकहरूको हातपातमा परेका तत्कालीन कमान्डर अरुणबहादुर सिंहको भने दुई वर्ष बढुवा रोक्का गरिएको छ । अमल्दार अजय थापा, प्यूठहरू समिन गुरुङ, राजकुमार महतो, सिपाहीहरू मदनबहादुर शाही, रमेश भुसाल, देवकुमार सिंह दनुवार र गोविन्दबहादुर बिष्टलाई बर्खास्त मात्र गरिएको छ ।हुद्दा राधेश्याम डगौरा थारू, अमल्दार सीताराम तामाङ, प्यूठहरू कमल श्रेष्ठ, राम आशिष महतो र सिकिन्दर राउत कुर्मीको एक तह घटाइएको छ । सिपाहीहरू जितबहादुर खत्री, शरण थापा, दीपक घिमिरे, लवराज साउद, लालबहादुर डाँगी, सहदेव आचार्य र उमेश खड्काको दुई वर्ष बढुवा रोक्का गरिएको छ ।
दैनिक पिटीपरेड र व्यायाम गर्ने क्रममा बेहोस भई ढलेपछि उपचारका क्रममा म्याग्दी अस्पतालमा चौधरीको मृत्यु भएपछि आक्रोशित सहकर्मीले ब्यारेक कब्जामा लिई नाराबाजी गर्दै कार्यकक्षमा रहेका तत्कालीन कमान्डरहरू सेनानी सिंह र पवन बाराकोटीलाई कुटपिट गरेका थिए ।चौधरीले सञ्चो छैन भन्दै नियमित परेड र व्यायाममा जान नमान्दा पनि कमान्डरले दौडाएपछि केही छिनमै उनको मृत्यु भएको थियो । गंगालाल हृदयरोग केन्द्र काठमाडौंमा ३ महिनासम्म मुटुको उपचार गरी फर्केका कैलालीका सिपाही चौधरीले सबेरै नियमित परेड र व्यायाममा जान नसक्ने बताए पनि सेनानी सिंहले उनलाई आराम गर्न दिएका थिएनन् । नियमित व्यायाममा निस्केका चौधरी दौडिने क्रममा बराहपाखोको ओरालोमा ढलेपछि उनलाई लगत्तै जिल्ला अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउँदा चिकित्सकले उनको मृत्यु भइसकेको बताएका थिए । चौधरीको मृत्युपछि 'सिपाही मार्न पाइँदैन' भन्दै अन्य सैनिकले ब्यारेकमा नाराबाजी गरेका थिए । नाराबाजी गर्दै कमान्डरको विरोधमा उत्रिएका सैनिकहरूले कार्यकक्षमा रहेका सिंह र बाराकोटीलाई कुटपिट गरेका थिए । स्रोतका अनुसार जवानहरूको आक्रमणबाट भाग्दै गरेका सिंहलाई गेटमा ड्युटी बसेका सैनिकले 'हतियार कक्' गरी सोझाएपछि उनले हात उठाएर 'आत्मसमर्पण' गरेका थिए । कुटाकुट भएपछि तत्कालै 'स्ट्यान्ड टु' -ब्यारेकको संकटकालीन अवस्था) लगाइएको थियो ।बागलुङस्थित सेनाको २३ नम्बर बाहिनीका महासेनानी दिलीप बिष्टको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वाइरीले यसबारे छानबिन गरेको थियो । घटनाको भोलिपल्टै पृतनापति नरबहादुर कँडेल र २३ नम्बर बाहिनी बागलुङका बाहिनीपति ताजमानसिं बस्नेत घटनास्थल पुगी सेनानीसहित ३६ सैनिकलाई पक्राउ गरेका थिए । ११ जनालाई घटनाकै भोलिपल्ट पक्राउ गरी बागलुङ पुर्याइएको थियो भने अन्यलाई अनुसन्धानका क्रममा पछि लगिएको थियो । तत्काल सोधपुछका लागि बिष्टको नेतृत्वमा कोर्ट अफ इन्क्वाइरी बनाइएकामा पछि विस्तृत अनुसन्धान र कारबाहीको निर्णयका लागि समरी जनरल सैनिक अदालत गठन गरिएको थियो ।