रवि राेषि दोहा म्युजिक अफ हार्मोनी– रक्स कतार’ले यहि १६ र १७ जुन (विहिवार र शुक्रवार) देशी तथा विदेशी कलाकारहरुको साथ एउटै मञ्चमा आयोजना गर्ने मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको तयारी पुर्णरुपले सम्पन्न भइसकेको इभेन्ट म्यानेजर डेविड क्षेत्रीले बताएका छन् । नमस्ते नेपाल प्रालीसंगको सहकार्यमा प्रोग्रेसिभ सोलुसन्स, निम्बस ट्रेडिङ र ड्रिम पार्क दोहा जुले आयोजना गर्न लागेको सो इभेन्ट यस बर्षको क्यालेन्डरकै उत्कृष्ट आयोजना हुने क्षेत्रीको विश्वास छ ।
चिडियाखानाभित्रको ‘ड्रिम पार्क’मा दुई दिन आयोजना हुने सो कार्यक्रमका लागि नेपालबाट इन्डियन आइडल प्रशान्त तामाङ, १९७४ एडी का एड्रिन प्रधान, सन्जय श्रेष्ठ, मनोज केसी, निराकर याक्थुङ्ग कतार आउँदैछन् । कतारवासीको मनोरञ्जनका लागि चर्चित हास्य कलाकार जितु नेपाल (मुन्दे्र) र नेपाली चलचित्रकी नायिका तथा कुशल नृत्यांगना दिया मास्के पनि दोहा आउँदैछन् । उनीहरू बुधवार साँझ दोहा आइपुग्ने क्षेत्रीले बताए । विदेशी कलाकारहरुमा फिलिपिन्सको चर्चित रिभिजस व्याण्डका एकोन, बिनो, मार्क, जोन, इटेनले अंग्रेजी तथा फिलिपिनो रक प्रस्तुत गर्नका लागि तम्तयार अवस्थामा रहेको क्षेत्रीले बताए ।यसअघि पनि निकै लोकप्रियता पाइसकेको बिट्स एण्ड बाईट्सका चर्चित नृत्यकार तथा नृत्यांगनाहरुले फ्रि स्टाइल डान्स तथा वेली नृत्य प्रस्तुतिले निरन्तरता पाउनेछ भने कतारमा स्थापित अर्का स्थानीय ‘प्रोजेक्ट टु हन्ड्रेड सिक्स’ र ‘एरियाकोड नाइन सेभेन फो’ नामक फिलिपिनो व्याण्डहरूले पनि आफ्नो प्रस्तुतीबाट नेपालीजनको मन जित्ने प्रयास गर्दैछन् । कार्यक्रमको डुंगा जितु नेपाल मुन्द्रेले खियाउने छन् भने म्युजिक अफ हार्मोनी समूहले पनि आफ्नो रक प्रस्तुत गर्ने तयारीमा जुटेको छ ।
म्युजिक अफ हार्मोनी टिम उदय राई, निर्मल सुन्दास, नरेश रायमाझी, पप्पु केसी, गंगा श्रेष्ठ र डेविड क्षेत्री लगायतको समुह हो । डेविड क्षेत्री सो समुहका गायक हुन् । भर्सेटाइल गायक क्षेत्रीले उनले विगतमा पनि केहि एलबमहरू श्रोतामाझ ल्याइसकेका छन्. । उनले कार्यक्रममा ‘ओल्डी÷गोल्डी’ नेपाली तथा १९७०÷८० तिरका कर्णप्रिय अंगे्रजी रकहरु प्रस्तुत गर्ने बताएका छन् । विभिन्न देशका कलाकारहरूलाई एउटै मञ्चमा उतारेर विश्वबन्धुत्वको भावना अघि सार्नुका साथै सांस्कृतिक पहिचान विनिमय गर्नु सो आयोजनाको लक्ष्य रहेको उनले बताएका छन् ।
शुक्रवारको शोका लागि विभिन्नदरका टिकटहरू बजारमा उपलब्ध रहेको जनाउँदै म्यानेजर क्षेत्रीले विहिवार साँझको कार्यक्रमका लागि भने कार्यक्रमस्थलमा मात्रै टिकट दिन सकिने बताए । सो कार्यक्रममा फिलिपिनो दर्शकहरुको पनि भारी उपस्थिती रहने उनले बताएका छन् । टिकट बिक्रीबाट प्राप्त आम्दानी नेपालका अनाथ तथा विकलांग बालबालिकाको सहयोगार्थ प्रदान गरिने जनाउँदै उनले सहभागिताका लागि अपिल गरेका छन् ।