Responsive Ad Slot

latest

साउदी अरबले रोजगारदाता कम्पनीलाई तीन भागमा वर्गीकरण

Tuesday, June 28

/ by Admin BHOLA THAPA
नेपाली कामदारको मागमा प्रभाव पर्ने

वैदेशिक रोजगारको मुख्य गन्तव्य साउदी अरबले रोजगारदाता कम्पनीलाई तीन भागमा वर्गीकरण गरी सोही आधारमा विदेशी कामदारलाई भिसा जारी गर्ने नीति लिएको छ । यस्तो वर्गीकरण नीतिबाट नेपाली कामदारको मागमा प्रभाव पर्ने वैदेशिक रोजगार व्यवसायीको अनुमान छ ।

साउदी अरबले रोजगारदाता कम्पनीलाई तीन भागमा वर्गीकरण गरी सोही आधारमा विदेशी कामदारलाई भिसा जारी गर्ने नीति बनाएको म्यानपावर व्यवसायीले बताएका छन् । ब्लु जोन, ग्रीन जोन र रेड जोन गरी रोजगारदातालाई तीन भागमा वर्गीकरण गर्ने नीति बनाई कार्यान्वयन गर्ने तयारी भइरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सदस्य तुलसीप्रसाद काप्री (गोविन्द)ले बताए ।


साउदी अरबमा करिब ५ लाख कामदार बैधानिक तवरबाट गएका छन् । अधिक संख्यामा नेपाली कामदार भारतको बाटो हँुदै साउदी अरब पुगेको विभिन्न अध्ययनहरुले देखाएको छ । नेपालको श्रम बजारमध्ये साउदी अरब तेस्रो गन्तव्य मुलुक हो । साउदीमा ९० प्रतिशतभन्दा बढी नेपाली कामदार निर्माण क्षेत्रमा छन् भने बाँकी होटेल, रेस्टुरेन्ट र सुरक्षा गार्डमा कार्यरत छन् ।

नयाँ नीतिबाट ब्लु जोनअन्तर्गत रहेका सबै रोजगारदाता कम्पनीलाई सजिलै भिसा दिने व्यवस्था गरिएको संघका सदस्य काप्रीले बताए । “ब्लु जोनमा विदेशी कामदारको तलब र भत्ता सुविधा सरकारबाट नै तोकिएको हुन्छ,” उनले भने, “यस क्षेत्रका रोजगारदातालाई सरकारले सेवासुविधा दिनुको साथै कामदारले पनि हवाई टिकट खर्चलगायत तिर्नुपर्दैन ।” यो क्षेत्रमा परेका कामदारका काम सुरक्षित र स्थायी हुन्छ ।

यसैगरी ग्रीन जोनमा परेका रोजगारदाता कम्पनीका कामदारको तलब भत्तालगायतका सेवासुविधा ग्रीन क्षेत्रको भन्दा कम हुन्छ । ब्लु जोनमा रहेका रोजगारदाता कम्पनीमा विदेशी कामदार भिसा कम दिन्छ भने रेड क्षेत्रमा भिसा दिने प्रक्रिया झन् कडाइ हुने काप्रीले बताए । उनका अनुसार ग्रीन र रेड जोनमा परेका रोजगारदाता कम्पनीले सरकारले तोकिएको विभिन्न प्रक्रियाहरु पूरा गरेर मात्र विदेशी कामदारको मागपत्र दिन सक्नेछ भने ब्लु जोनका रोजगारदाताले यस्तो प्रक्रिया पूरा गर्नुपर्दैन ।

“ब्लु जोनमा परेका रोजगारदाता कम्पनी उत्कृष्ट हो,” काप्रीले भने, “ग्रीन र रेड जोनमा परेका रोजगारदाता कालोसूचीमा परेजस्तै हो ।” त्यसैले यो क्षेत्रमा पर्ने रोजगारदाता कम्पनीलाई सरकारले विदेशी कामदार लिने सम्बन्धमा कडा नियमन र निगरानी गर्ने उनले बताए । यसका लागि साउदी सरकारले एक सातादेखि काम सुरु गरेको छ ।

अहिले ब्लु, ग्रीन र रेड जोनमा कति–कति रोजगारदाता कम्पनी थाहा नभए पनि अधिक मात्र ग्रीन र रेड रहन सक्ने हुँदा केही समय नेपालको मागमा असर पर्ने काप्रीको भनाइ छ । “अहिले साउदी अरबले रोजगारदाता वर्गीकरणका लागि काम अगाडि बढाइरहेको छ,” उनले भने । कम्पनीको भौतिक पूर्वाधार, आर्थिक आधार, कामदारलाई दिएको तलब भत्तालगायत सेवासुविधाको आधारमा वर्गीकरण हुनेछ ।

यस्तो नीतिले घरबिदामा आएका विदेशी कामदारलाई रेड र ग्रीन क्षेत्रमा परेका रोजगारदाता कम्पनी जान नपाउने व्यवस्था पनि हुन सक्ने काप्रीले बताए । “साउदीको अध्यागमन विभागले घरबिदाबाट विदेश फर्केका कामदारलाई एयरपोर्टबाटै नै फर्काइ दिन सक्छ,” उनले भने, “यसका लागि श्रम विभाग कडाइ साथ काम गरिरहेको छ ।” न्युज नमस्ते सन्सार बाट
Don't Miss
© all rights reserved
made with by netKUTI