एउटै धर्ती टेक्छ्यौ तिमी जहाँ म उभिएको छु
त्यही आकाश तिम्रो पनि हो म ओतिने गरेको
क्षितिज को वल्लो-पल्लो छेउ र
पृथ्वी को अक्षांश-देशान्तर
एकै-एकै हुन् हाम्रा
प्रभात-साम, दिन-रात
अन्तर नै के छ र हाम्रा लागि
हुँदा हुँदै पनि
बारम्बार तिमी देखिने मेरा सम्मुखहरु
सधैं सधैं दोबाटोहरुमा भेटिंदा धरी
तिमी दूर दराज झैं प्रतित छ्यौ
अवाक सुस्केरामा आँफैलाई सोध्ने गर्छु
किन छुन सकिरहेको छैन म तिमीलाई !
फूलहरु तिमीतिरै लर्किएर जान्छन्
पवनहरु उसैगरी
तिम्रै झ्याल,छिड्किनी र भेन्टीलेशनतिर फर्किएर जान्छन्
चुम्बकिय स्पर्श त्रिषित मेरो मन
बेचैन छ,आहात छ
रित्तो,,,
एकदमै रित्तो,,,खाली महशुस मात्र छ मसँग
आफ्नै नावीको शुवासना थाहा नपाएर
रन-बन,चार-चौरास भौंतारिने कस्तुरी तिमी
म भने तिम्रो वदनबाट छुटेको
इन्सेक्ट किलर अत्तरको चर्को रागमा
जीवन भोगको तृप्ति कल्पिरहेछु
ओभानो तिम्रो सिउँदोको निमन्त्रणा याचीत
मेरा पारदर्शी औंलाहरु
तिम्रो प्रेमिल सर्वाङ्गको सुकोमलतामा
आफ्नो बन्धकी वैंशको खाग खोजिरहेछन् !
किन यत्ती प्रिय लाग्छ्यौ तिमी ?
प्रश्नका चाङहरु मेरै सिरानीमा
अनुत्तरित भएर खसिरहन्छन्
जवाफबिहिन सवालहरु तिमी नै हौ कि ?
मैले अन्दाज गर्न नसकेको ध्रुब सत्य
हुन सक्छ तिम्रै अस्तित्वमा निहित छ
तिमी दूराकाशकी जून त हुँदै होइनौ
न त पा,,,री क्षितिजमा चम्किने तारा नै
मेरै भूगोलको समकक्षी बगैंचामा
ढकमक्क फूलेकी फूल नै हौ तिमी
र पनि
टपक्क टिपेर कानमा सिउरिन
छातीमा टाँस्न,गलामा पहिरिन
या त मेरो मन मन्दिरको भगवानलाई चढाउन
किन असमर्थता झेल्दैछु म
आखिर किन यत्ती अप्राप्य लाग्छ्यौ तिमी
र चिउँडो उचालेर आँखैनेर टाँस्ने
चाहनाको पर्खाल टेकेर
पहिल्यै देखीको तिमीलाई छुने रहर पुरा गर्न
व्यग्रातुर छु म
लाग्दैछ कुन दिन
पहाडसँग दुश्मनी गरेरै भए पनि
तिमीभित्रै समाहित हुन
घ्वाम्लाङ्गै हाम्फाल्नेछु म
तिम्रै अङगालोभरिको गाथमा
सिर्फ तिमीलाई छुने रहर मेटाउन !!!
- गणेश खड्का
भोजपुर
हाल : फ्रिगेट आइल्याण्ड, सेसेल्स ।
FREGATE ISLAND PRIVATE
VICTORIA, SEYCHELLES