
नानोको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिका अनुसार ६ सय २४ सीसीको यो कारको सुरुवाती मूल्य ७ लाख ९८ हजार छ । यसमा उपलब्ध अन्य सुविधाका आधारमा उपभोक्ताले थप मूल्य तिर्नुपर्नेछ ।
भारतीय बजारमा झन्डै दुई वर्षअघि १ लाख रुपैयाँमा उपलब्ध भएको नानो नेपाली बजारमा आइपुग्दा चर्को भन्सार र अन्य महसुलका कारण यति महँगो भएको हो । यद्यपि भारतीय
बजारमै हाल नानोको सुरुवाती मूल्य १ लाख ६० हजार भारु पुगिसकेको छ ।
नेपाल भित्रिने हरेक चारपाङ्ग्रे सवारी साधनले भन्सार, अन्तःशुल्क र सडक दस्तुरबापत २ सय ३८ प्रतिशत करको भार बेहोर्नुपर्छ । नानो नेपाली जनताको जीवनस्तर र सडक सुहाउँदो भएका कारण चाँडै लोकप्रिय बन्ने सिप्रदीको दाबी छ ।
सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर राणाले नानोको बुकिङ आइतबारबाटै खुला गरिएको जानकारी दिए । उनका अनुसार सिप्रदीका आफ्नै र आधिकारिक विक्रेताहरूसमेत गरी १४ स्थानबाट यो कार बुकिङ गर्न सकिनेछ । आगामी १० दिनसम्म नानो बुकिङ गर्ने उपभोक्तालाई जुलाईभित्रमा गाडी उपलब्ध गराइने उनले बताए ।
नानोको औपचारिक बिक्री सुरु गर्नुपूर्व सिप्रदीले नेपालका विभिन्न क्षेत्रमा यसको ‘टेस्ट ड्राइभ’ गरेको थियो । ‘नानो यात्रा नेपाल’ नाउँ दिइएको यो यात्रामा दुई वटा नानो गाडीले मुलुकका विभिन्न १५ क्षेत्रको भ्रमण गरेका थिए । राणाका अनुसार हालसम्म यी गाडीले ६ हजार किलोमिटर यात्रा सफलतापूर्वक तय गरिसकेका छन् । “यो यात्राले नेपालका उपभोक्तालाई टाटा नानोको सबलता र विश्वसनीयताको प्रत्यक्ष प्रमाण दिइरहेको छ,” उनले भने ।
मासिक ११ हजारमा नानो
सिप्रदीले महिनाको ११ हजार १ सय ११ रुपैयाँ किस्ता बुझाएर नानो खरिद गर्न सकिने अफरसमेत ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शम्भु दाहालका अनुसार नानो स्ट्यान्डर्ड बुकिङका लागि १० हजार, सीएक्सका लागि २० हजार र एलएक्सका लागि ३० हजार रुपैयाँ बुझाएर बुकिङ गर्न सकिनेछ ।
नानो सस्तो भइकन यस वर्गमा उपलब्ध अन्य गाडीभन्दा ठूलो पनि रहेको कम्पनीले बताएको छ । १ सय ८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको नानो ६ सय २४ सीसी पेट्रोल इन्जिनमा उपलब्ध छ । यसको लम्बाइ ३.१ मिटर, चौडाइ १.६ मिटर र उचाइ १.६ मिटर छ । कम्पनीका अनुसार स्ट्यान्डर्ड नानो तीन तथा नानो सीएक्स र एलएक्स पाँच रंगमा उपलब्ध छन् ।
नानो सडकमा १ सय ५ किलोमिटर प्रतिघण्टाको गतिमा दौडन सक्छ भने यसको माइलेज पनि प्रतिस्पर्धी गाडीभन्दा बढी छ । कम्पनीका अनुसार १ लिटर पेट्रोलबाट यो गाडी २३.६ किलोमिटर गुड्न सक्छ । त्यस्तै, यसको सुरक्षा र प्रदूषण मापदण्ड पनि अन्तर्राष्ट्रियस्तरको रहेको कम्पनीको दाबी छ । समाचार काराेवार दैनिकी बाट