धन बस्नेत-पोखरा १२ असार किसानहरु धान रोप्न व्यस्त हुदाँ सरकारी अनुदानको मल भने बजारमा अभाव देखिएको छ । मध्य असारे समयमा पोखरामा धमाधम खेतमा रोपाई शुरु गरिएपनि डिपीए रसायनिक मल किसानले पाउन सकेका छैनन् । युरिया र पोटास भने पर्याप्त रहेको जिल्ला कृषि सामाग्री संस्थान पोखराले जनाएको छ । ‘रोपाईको समयमा डिपिए मल बजारमा खोज्दा पाईएन् ।’ कुडँहर फाँटमा धान रोप्न व्यस्त एक किसानले भने-’रोपीसकेपछि मल आउँछ । खेतमा पछि हाल्नुपर्ने भयो ।’ विरौटा फाँटमा धान रोप्न व्यस्त किसानहरुले पनि मल नपाएको बताएका छन् । उता जिल्ला कृषि सामाग्री संस्थानले पछि किसानहरुलाई डिपिए मल उपलब्ध गराउन नसकिएको बताएको छ । ‘मध्य असारमा डिपिए किसानलाई वितरण गर्न पाइएको छैन् ।’ संस्थानकी प्रमुख शान्ति पौडेलले भन्नुभयो-’असारको पहिलो हप्ता नै मल सिद्धियो । रोपाईको चटारोको बेलामा दिन पाईएन् ।’ उहाँका अनुसार डिपिए मल आउन अझै एकसाताभन्दा बढी समय लाग्ने छ । मल आइपुगेपछि किसानहरुलाई वितरण गरिने छ । सरकारले किसानहरुलाई सहकारी मार्फ अनुदानको रसायनिक मल विक्री वितरण गर्दै आएको छ । सरकारले तर्राईमा ४ विघा र पहाडमा १५ रोपनी क्षेत्रफलको आधारमा सहुलियत मल उपलब्ध गराउने नीति अगाडि सारेको छ ।
‘अनुदानमा आएको रसायनिक मल तीन बालीको लागि दिने छौं ।’ संस्थान प्रमुख पौडेलले भन्नुभयो-’किसानहरु मल नपुगे पुन आयात गर्र्छौ ।’ पोखराको सिचाई सुविधा पुगेको जमिनमा जेठको तेस्रो सातादेखि धान रोप्ने शुरु गरिन्छ । मध्य असारसम्म पोखराको कुडँहर, विरौट, फेवा फाँटमा धान रोपेर सकिन्छ । संस्थानमा युरिया ६ सय २५ मेटन र पोटास ५० मे.टन स्टक रहेको छ । तर डिपिएको माग अनुरुप किसानहरुलाई आपूर्ति गर्न नसकिएको उहाँले बताउनुभयो । आयात गरिएको मल हिमाल पारीको जिल्ला मनाङ र मुस्ताङसँगै म्याग्दीमा समेत पठाउँदै आइएको छ । उहाँका अनुसार हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङ तथा म्याग्दीमा झण्डै दुइ सय मे.टन पठाइने छ । ती तीन जिल्लामा मल ढुवानीको लागि सरकारले अनुदान समेत दिदैं आएको उहाँले जानकारी दिनुभयो । ‘आयात गरिएको मल कास्कीको लागि पर्याप्त हुदैन् ।’ उहाँले भन्नुभयो-’तर अहिले हिमाली जिल्लामा समेत पठाइने छ ।’ संस्थानका अनुसार ५० केजीको प्रतिबोरा युरिया मल सातसय भन्दा केही बढी निर्धारण गरिएको छ । प्रतिबोरा १ हजार छ सय ७९ रुपियाँ पर्ने संस्थानले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार कास्कीमा २६ हजार १ सय ६७ हेक्टर क्षेत्रफलमा धान खेती हुदैं आएको छ । त्यसबाट झण्डै ६० हजार मेटन धान उत्पादन हुने तथ्याङ्क रहेको छ ।