Responsive Ad Slot

latest

आफू प्रधानमन्त्रीको उम्मेदवार नबन्ने- उपाध्यक्ष भट्टराई

Thursday, June 16

/ by Admin BHOLA THAPA
काठमाडौं,२ असार/ एकीकृत माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले शान्ति प्रक्रिया र संविधान निर्माण गर्न नसक्ने अवस्थामा आफू प्रधानमन्त्रीको उम्मेदवारी नबन्ने बताएका छन्। प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि राजीनामा गरी मार्ग प्रशस्त गर्ने सहमतिपछि उनका पक्षधरले ‘भट्टराई प्रधानमन्त्री पक्का’ भनिरहेको बेला उनले त्यस्तो धारणा व्यक्त गरेका छन्। बुधबार राजधानीमा आयोजित ‘पाँच बुँदे सहममति कार्यन्वयनको चुनौती’ विषयक छलफलमा भट्टराईले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन र संविधान निर्माण गर्न नसक्ने गरी प्रधानमन्त्री उम्मेदवार नबन्ने बताएका हुन्।

प्रधानमन्त्रीले तत्काल राजीनामा गरेर पाँच बुँदे कार्यन्वयनका लागि पहल लिनुपर्ने उनले बताए। ‘पहल प्रधानमन्त्रीले लिनुपर्छ पाँच बुँदे सहमति कार्यन्वका लागि। जसको नेतृत्वमा शान्ति प्रक्रिया र संविधान निर्माण हुन्छ उसलाई दिए हुन्छ। फेरि उहाँ (प्रधानमन्त्री खनाल)लाई सरकार नेतृत्व दिन सकिन्छ’, उनले भने। प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भनेर आफू प्रधानमन्त्रीको उम्मेदवार बन्न नखोजेको भट्टराईले बताए। जेठ १४ मा संविधान सभाको म्याद थपको अनुभूति सुनाउँदै भट्टराईले भने- ‘अन्तिमा सबै दलबीच सहमति हुन्छ होला भन्ने थियो। बाहिर कमल थापाहरू संविधान सभाको विघटनको माग गर्दै थिए। तर, अन्तिम समयसम्म कांग्रेस, एमाले, माओवादी, मधेसवादी सबै दलमा कमल थापाहरू कसरी उपस्थित भए भन्ने प्रष्ट देखियो।’ पाँच बुँदे सहमति भएको दुई साता बित्दा संविधानसभा विघटन गर्ने तत्वहरू पुनः लागि रहेको भट्टराईले बताए। ‘पाँच बुँदे सहमति भएको यो २ हप्ताका घटनाक्रम राम्रा भएका छैनन’, भट्टराईले भने- ‘संविधानसभा विघटन गर्ने तत्व लागि रहेका छन्।’ अन्य वक्ताले माओवादीभित्रको विवादले शान्ति प्रक्रियामा असर पर्ने हो कि भन्ने जिज्ञासा राखेपछि भट्टराईले भने- ‘पहिले अन्य दलमा थियो। एकै ठाउँ बसेपछि यो राजनीतिक संक्रामक सबैलाई सर्दो रहेछ।’ एमाले पोलिटव्यूरो सदस्य प्रदीप ज्ञवालीले अब एमालेले सरकार नेतृत्व नगर्ने बताए। सहमतिका लागि प्रधानमन्त्री झलनाथ खनाल राजीनामा दिन तयार भएको उनले बताए। तर, न्यूनतम सहमतिको आधार तय हुनुपर्ने उनले बताए। ‘सहमतिका न्यूनतम आधार तयार हुँदा साथ प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ। को प्रधानमन्त्री बन्ने भन्नेमा एमालेलाई अब पुग्यो।

अहिले एमालेलाई सरकार नेतृत्व घाँटी घाँटी पुगिसक्यो’, ज्ञवालीले भने। शान्ति प्रक्रिया र संविधान निर्माणमा ढिलाई हुनुमा प्रत्येक दलहरूबीचको आन्तरिक विवाद पनि कारक रहेको ज्ञवालीले बताए। माओवादी एकताबद्ध भएर आए संविधान बन्ने उनले बताए। ‘दश हप्ता बाँकी छ। यसलाई पलपलमा मेहनत गरेर जाऔं’, उनले भने। सहमतिका लागि सरकार फेर्नुपर्ने पार्टीको धारणा भएका कांग्रेस केन्द्रीय सदस्य गगन थापाले बताए। ‘कांग्रेस अहिले सरकार फेर्नुपर्छ भन्ने माग हो। तर, सहमतिमा नगए मुलुक मुठभेटमा जान्छ’, थापाले भने।

Don't Miss
© all rights reserved
made with by netKUTI