Responsive Ad Slot

latest

झड्केली आमा (कथा)

Saturday, May 14

/ by Admin BHOLA THAPA
त्यस दिन बेस्सरी रोयो, धेरै रोयो । उ रुनै पर्ने थियो त्यो दिन । किनकी उसको आमा पोइल गएकी थिई । सधैँको जसरी मातृमय निरभ्रतामा आमाको मुख सुम्सुम्याउँदै र आफ्नो पाखुरालाई सिरानी गरेर सुताउने गरेकी आमा जुरुक्क उठेर पोइल जानुले बाउ मर्नुको भन्दा पनि सयौँ गुना पिडाबोध उसको बालमष्तिस्कले खेप्नु परेको थियो । उसको बाबु पहिले नै अर्वुद रोगले दीर्घ पिडित भएर मरेको थियो । जिउँदैमा उसकी आमाले उसको दीर्घरोगी बाउलाई दिनुपर्ने माया सिनित्त पारीसकेकी हुनाले, बाउकै रोग र शोकसंगै रयलपयल माया निखारेको भएर उसकी आमाले उसको वावुको अवसान पछि किरिया सकिएको दिन सम्म बचेखुचेको आँसु जति सिनित्त खर्चिदैँ रुनुपर्ने जति औपचारिकता निभाएर रुन छोडिदिई ।
उसको बाउलाई गाउँलेले घाटमा सेलाएर आएको केहि दिनपछि नै उसकी आमा पहिले भन्दा पनि चङ्गा भएकी थिई । उसको आमाको देहमा सिउँदोमा रातो सिन्दुर र रंगीन आभूषण नभएपनि उसको बाउ घाटमा थेग्रिएपछि उसकी आमा तंग्रिदै आएकी कुरामा उसको आमाको १६ बर्षे पाराको चाञ्चल्यताले स्पष्ट ओकलिरहेको थियो । आमाको ननिख्रिएको बैँसको उकुसमुकुस र पुनः अंकुराएको कुण्ठित जोशको बारेमा त्यो बबुरोलाई होश हुने कुरापनि भएन । उसको बाउको अवसानपछि उसको आमाको ओठमा पुनः त्यहि कामपरागको राग व्हाल–व्हाली सुवासित हुन थालिसकेको थियो । उसको परिवार सर्वाहारा सुकुम्बासी भएकै सौभाग्यले गर्दा उसको आमा किरीयाबाट उम्किएपछि घर बनाउने ठेकेदारसंग ठेक्का लिएको घरमा ज्याला मजदुरीको काम गर्दै हिँड्न थालेकी थिई ।

उसकी आमाले ज्याला गरेर कमाएको पैसा मरिसकेको साख्खे पोईको घरमा भित्र्याउनु भन्दा पहिले नै आफैँ झड्केलो पोइको घरमा भित्रिन पुगी । उसको टुहुरो छोरोलाई “जहाँ गहिरो त्यहिँ ताल” भनेको जस्तै भयो । सहाराविहीन भएकी उसको आमा सहारा पाउन सफल भएकी थिई भने उ अब त्यो गाउँमा पूर्ण बेसहारा हुनपुगेको थियो । आमा छउञ्जेल आमाको मायाको पात्र भएको त्यो टुहुरो उसको आमाले घरजम गरेको भोलिपल्टै बेसहाराको दज्र्यानी प्राप्त गर्दै सवैको दयाको पात्रमा दर्ज हुनपुग्यो । अब साँच्चै उ पूर्णतः टुहुरो भयो । २, ४ दिन दयाको पात्रको रुपमा ग्रहण गर्दै कृपालु छिमेकीहरुले “बजियाको खप्पर पनि दुखिया नै रहेछ” भन्दै “अन्न भनेको मच्चेर खाने होइन बाउ टोकुवा, आफ्नो गच्छे हेरेर घिच” भन्दै सहानुभूति दर्शाउँदै उसलाई एक–एक छाक भात खुवाएर गाउँलेले पुण्यको काम गरे । त्यस दिन उप्रान्तबाट उसको भाग्य नक्कली जोगीले निधारमा घसेको खरानी पुछेर सिनित्त पारेझैँ अभिभावकत्व भन्ने शव्द्ध सदाको लागि उसको निधारबाट मैजारो भएको थियो ।
आमाको सिउँदो दोश्रो खेप रंगिदा उसको भाग्य र मातृ ममत्व पहिलो खेपमै नामेट भयो । आमा कहाँ गई, को संग गई उसले थाहा पनि पाएन र त्यो अब उसको लागि चासोको विषय पनि भएन । आमा पोइल गई भन्ने थाहा पाएपछि पनि उसले आमालाई कहिलै भुलेर पनि सराप्ने जस्तो अक्षम्य गल्ती गरेन । फेरि यो ठानेर पनि होइन कि, “आखिर उ मेरै आमा हो , आमा भएकै कारणले मैले आमालाई केहि भन्नु हुँदैन” भनेर पनि होइन । शायद उसले सम्झिएको हुनुपर्छ कि उसको साख्खे बाउको घर उसको आमाको पुख्र्यौली घर होइन । पहिले उसकी आमा उसकै साख्खे बाउसंग जसरी बिहे भएर आएकी थिई, उसको बाउ मरेपछि अर्को झड्केलो बाऊसंग बस्न जानु पर्ने त्यस्तै परम्परा पो हो कि भन्ने उसको वाल मष्तिस्कको ठम्याईले उसकी आमा त्यसरी पोइल जानुलाई सामाजिक हार्दिक चलन सम्झिदै सहज रुपमा लिएको हुनुपर्दछ ।
उसको आमा माथि पुनः जागृत शारीरिक भोगले उत्पन्न गरेको देह स्वादको पूर्व स्मृति र देह भोकको अगाडि उसकी आमाले त्यो टुहुरोको पेटको भोक सामान्य ठहर गरेर पोइल जाने आँट गरेकी हुन सक्छे । उसकी आमाले सोची होली, अर्थात् बडो शारीरिक पिडाबोधको साथ फुत्त पाएको त्यो छोरोलाइ पशुरीत संग तुलना गरी होली । त्यहि भएर उसकी आमाले आफैँले जन्माएको सन्तान अर्थात् उ प्रति पशुवत संस्कार लादेकी हुनसक्छे । पशुले पनि त आफ्नो दुधको सुत्केरी लाम्टोबाट लैनो अवस्थामा अल्छी नमानीकन खुरुखुरु दुध आउञ्जेल खुवाएर आफ्नो मातृ कर्तव्य निभाएकी हुन्छे । यसो खनक, बाटो गल्छेडा र कुइनेटो तिर मान्छेहरुले विसाएको दुर्गन्धित आपदको स्वाद चाख्न र पेट भर्न जान्ने भएपछि जसरी बकेर्नु कुकर्नीले आफ्ना लालावालालाई चटक्क छोडेर आफ्नो कामवासनाको रहर भुतुक्कै हुनेगरी थलो पार्न संभोग मौसमको प्रतिक्षामा सहवासरत हुन दरिलो अर्को डांगो पात्रको खोजाईमा प्रतिक्षित हुन्छे, त्यसरी नै त्यहि संस्कारलाई अवलम्बन गरेर ८ बर्षको छोरालाई अरुको आँगन पिँढी चाहारेर खान सक्ने दरिलो ठानेपछि उसले विर्सिएकी हुनुपर्छ र उसलाई थाहै नदिईकन सुईंकुच्चा ठोकेकी हुन सक्छे । त्यहि भएर उसले आफ्नो नाबालक छोरालाई छोड्ने कुकृत्य गरेर आफ्नो शारीरिक कामवासनाको मानसिक रहरलाई कृतकृत्य गराउन उद्धत भईरही । अतृप्त कामवासनालाई ठेगान लगाएरै छोड्छु भनेर भकाभक आफुलाई कामपात्रमा परिभाषित गर्न लिप्त भईरही ।
उसको त्यो शारीरिक उद्धोलनको काम ज्वरो घट्नु र बढ्नुको नापजाँचमा लिप्त हुँदा आफुले पाएर छोडेको छोरो भनाउँदोलाई सम्झने हेक्का नै राखिन वा राख्नुमा उसले कुनै महत्व नै ठानिन । उसको तिघ्रा सप्रिदै जाँदैगर्दा उसको साख्खे आमाको दोश्रो छिमलको झड्केलो बाउ र उसको आमा वीच उत्पन्न असमझदारिताको कारणले विग्रिएको खवर हुत्तिदै उसको कानमा पर्न आयो । उसकी आमा कन्याबाट विवाहिता हुँदै विवाहिताबाट आमा, आमाबाट विधवा र विधवाबाट अर्कैको ल्याइते हुँदै पुनः दोश्रो छिमल आमा बनेको केहि बर्षमा नै फेरि परित्यक्ता हुन पुगेको खबर उसको दुखिया निधारको दायाँ बायाँका कानले सुन्न पर्यो । उसलाई आफु ठाडो सियोमा काम गर्न बसेको घरको बाहुनबाजेको मुखबाट अर्को खबर पनि सुन्ने साइत जुर्यो । “ओई डल्ले, तेरी आमालाई भेट्न जान्नस् ? तेरी आमालाई त तेरो झड्केलो बाउले घरबाट निकालीदिएपछि पारी जिम्दारको गोठको पाली बारेर धुस्ना माथि सुत्दै त्यहि पल्लो गाउँतिर अर्म–पर्म गर्दै हिँड्ने गरेकी छे रे । यत्तिका बर्ष भयो तैँले आमाको मुख देख्न नपाएको, आमाको न्यास्रो लागेको भए जा है, आमाको मुख हेर्न जिम्दारको घराँ । जा बाबै, कत्ति बर्षपछि तैँले हराएको आमा पाएको छस् । तेरो झड्केलो बाउपट्टिबाट तेरी आमाले भाई पनि पाएको छ रे, भेटेर आइज न त एक खेप ।” बाजेको कुरा सुन्ने बित्तिकै उसले आँखा पिल्ल पार्दै भन्यो, “आमाले भाई पाएर अब मलाई के स्वाद भयो र बाजे ! जुन बेलामा मलाई आमा चाहिएको थियो, त्यो बालखा बेलाको दुःख र बेसहाराको बेलामा मैले मेरै साख्खे आमालाई सहाराको रुपमा पाउन सकिन । भो जान्न बाजे । आमाले भाई पाएपनि मैले पाउन नसकेको त्यो झड्केली आमाको मुख मरिकाटे पनि हेर्न जान्न ।” बोल्दाबोल्दै उसको आँखा सर्लक्क रसिक भएर आयो र दुई थोपा आँसु आफ्नै दाहिने खुट्टाको बुढी औँलामा पुर्लुक्क खसालेर बाजेको मुखमा पुलुक्क हेर्दै हल गोरु नाहारेर गोरुको पुच्छर निमोठ्दै मकै बारी उक्ल्याउन बाजेको बारी तिर लाग्यो ।
*******************************
रबी रोशी
रत्ननगर नगरपालिका-१३
टाँडि,चितवन,नेपाल 

Don't Miss
© all rights reserved
made with by netKUTI