बर्दिया, चैत २२- विदेश जानुअघि एक वर्षपहिले गुलरिया-१ बेलगाडीकी १७ वर्षीया राजकुमारी चौधरीले बुबाआमालाई भनेकी थिइन्, 'पैसा कमाएर टायल किन्ने पैसा पठाइदिन्छु, घर छाउन।'
आफ्नी 'राजकुमारी' को विदेशमा कमाएर पैसा पठाउने ढिपी बुबाआमाले टार्न सकेनन्। खरको छानाबाट बर्सेनि बर्खामा पानी जो चुहिन्थ्यो! गाउँकै दलाल नारायण सुनार र डिलाराम पौडेलले राजकुमारीलाई 'कुवेत लगिदिने' भन्दै थिए। उनीहरूले बुबाआमालाई फकाए पनि, 'कुवेतमा राम्रो काम पाइन्छ, कामअनुसारै पारिश्रमिक पनि।'
'पुगेकै भोलिपल्ट फोन गर्छु' भन्दै दलालसँग 'कुवेत हिँडेको' एक वर्ष भइसक्दा पनि छोरीले फोन गरिनन्। अहिले छोरीको अत्तोपत्तो छैन। चिन्तित बुबाआमालाई शंका लागेको छ, 'कतै दलालहरूले छोरीलाई त बेचेनन्!'
छोरीले पैसा पठाउली भन्ने आशामा बुबा देवारीले ऋण काढेरै घरमा नौ महिनाअघि टायल लगाए। 'अहिलेसम्म छोरीको पत्तो छैन, ऋण तिर्न पैसा पनि छैन,' उनले भने।
आमा देवीकुमारी भन्छिन्, 'छोरीको फोन अहिले आउला, भरे आउला भन्दै एक वर्ष बितिसक्यो।' पैसा कमाएर घरमा भरथेग गरूँला भन्ने छोरी सम्पर्कविहीन