काठमाडौ, चैत्र १२ - प्रख्यात अभिनेत्री मनीषा कोइरालाको दैनिकी आजकाल केही फेरिएको छ । उनी लाजिम्पाट रानीवन नजिकको एक स्टुडियोमा साताको २/३ दिन पुग्छिन् । तर त्यहाँ निर्देशक, क्यामराम्यान, लाइटम्यान, मेकअप आर्टिस्ट, स्पट ब्वाय कोही हुँदैनन् । हुन्छन् त केवल उनी र उनका एक गुरु ।
'रियल लाइफ' मा विद्यार्थी बनेकी उनी दत्तचित्त, गम्भीर र अनुशासित रूपमा ज्ञान प्राप्त गरिरहेकी भेटिन्छिन् । उत्तिकै दत्तचित्त भएर मनीषालाई पेन्टिङ कला सिकाइरहेका हुन्छन् चित्रकार प्रकाश चाँदवाकर । शुक्रबार पनि उनी छैटौं पेन्टिङ 'कालभैरव' लाई अन्तिम रूप दिइरहेको अवस्थामा स्टुडियोमा देखिइन् ।
नोभेम्बरबाट चित्रकारिता प्रशिक्षण सुरु गरेकी अभिनेत्री मनीषाका हातले क्यानभासमा पहिलो चित्र शान्तिका दूत भगवान् गौतम बुद्धको उतारेको थियो । उनका ६ वटा चित्रमध्ये पति सम्राट दाहालले त्यो पेन्टिङ निकै मन पराएका छन्, जसमा उनले एक वृद्धको पोट्रेट चित्र कोरेकी छन् ।
बलिउड हस्ती मनीषाको लगन र गम्भीरताबाट निकै प्रभावित भएका गुरु चाँदवाकरले भने, 'छोटै समयमा क्यानभासमा ब्रस चलाउने कलामा उनी निखारिँदै गएकी छन् ।'
बलिउड रजतपटमा अति व्यस्त रहेका बेलामा समेत उनी कला प्रदर्शनीहरू उद्घाटन गर्न र हेर्न पुगिरहन्थिन् । 'उद्घाटन समारोहमा चित्तबुझ्ने गरी अवलोकन गर्न नपाइने हुनाले राम्ररी अवलोकन गर्न फेरि समय मिलाएर प्रदर्शनीमा पुग्थें,' उनले मुम्बईमा रहँदा नै आफूभित्र जागेको पेन्टिङ मोहबारे खुलाइन् । सम्राट दाहालसँग गत जूनमा विवाह गरेपछि वर्षौंदेखिको क्यानभासमा चित्र कोर्ने चाहनालाई पूरा गर्ने मौका उनलाई मिलेको हो । र, यतिखेर काठमाडौंमा उनी रङ र कुचीसँग खेलिरहेकी छन् ।
क्यानभासमा कालभैरवलाई निखार्दै गर्दा शुक्रबार केहीबेर रोकिएर उनले भनिन्, 'सायद मनभित्र लुकेको कला अभिव्यक्ति भएर होला, जब ब्रस समातेर चित्र कोर्न थालें झन्झन् गहिरिएर लाग्न मन लाग्यो ।'
चित्रकारितालाई निरन्तरता दिने उल्लेख गर्दै उनले थपिन्, 'यो रुचिले मलाई कहाँ पुर्याउँछ थाहा छैन ।' बिहेपछि उनी काठमाडौं बसेर कलाप्रतिको प्रेमलाई हरतरहले निरन्तरता दिइरहेकी छन् । चाहे त्यो हालै आयोजित भारतीय चलचित्र महोत्सवमा देखाइएका सिनेमाहरू हेर्न पुग्नुहोस् वा चलचित्रसम्बन्धी अन्तक्रिर्याहरूमा सहभागी हुन । काठमाडौंमा पनि उनी कला प्रदर्शनी उद्घाटन गर्न मात्र पुग्दिनन्, अवलोकनमा पनि धाइरहेकी हुन्छिन् । हालै जयनेपाल सिनेमा हलमा 'सिक सिटी' हेरेकी मनीषाले 'नेपालमा पनि एक्सपेरिमेन्टल आर्ट मुभीहरू बन्न थालेको' मा खुसी व्यक्त गरिन् ।
गुरुकुलमा चलिरहेको नाटक र फिल्म 'ब्याच नम्बर १६' पति सम्राटसँग हेर्न जाने योजना पनि उनले बनाएकी छन् । उनको रुचि र चाहनालाई पाइला-पाइलामा साथ दिइरहेका सम्राट स्टुडियोमा पुर्याइदिएको ४ घन्टापछि फेरि आई शुक्रबार मनीषालाई लिएर खैरो कारमा हुइँकिए ।source http://www.ekantipur.com/np/2067/12/12/full-story/327045.html